News इरान लगातार तेस्रोपटक फिफा विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियन महारथी इरानले यसै बर्ष कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । एसियाली छनौटको तेस्रो चरणतर्फ समूह ए मा रहेको इरानले अपराजित रहँदै विश्वकपको टिकट काट्न सफल भएको हो ।

इरानको यो लगातार तेस्रो विश्वकप हो भने समग्रमा छैठौं विश्वकप समेत हो । बिहीबार घरेलु मैदान आजादी स्टेडियममा भएको खेलमा इरानले छिमेकी प्रतिद्वन्द्वी इराकलाई १–० ले हरायो । इरानका लागि ४८औं मिनटमा मेहदी तारेमीले एक मात्र निर्णायक गोल गरे ।

यो जितपछि ७ खेलबाट १९ अंक जोडेको इरान शिर्ष स्थानमा छ । र तीन खेल बाँकी छँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । त्यस्तै बिहीबार नै लेबनानलाई १–० ले हराएको दक्षिण कोरिया १७ अंकका साथ दोस्रो स्थानमा छ । कोरियाको पनि विश्वकपमा छनौट हुने सम्भावना बलियो बनेको छ ।

त्यस्तै बिहीबार नै सिरियालाई २–० ले हराएको युएई ९ अंकका साथ तेस्रो स्थानमा छ । ५ अंक जोडेको लेबनान चौथो स्थानमा रहँदा ४ अंक जोडेको इराक पाँचौं स्थानमा छ । मात्र २ अंक जोडेको सिरिया भने समूह ए को पुछारमा छ ।

Post Comments