News हेलिबोधलाई देउमाई गोल्डकपको उपाधि
रमेश समदर्शी

इलाम । यहाँ सम्पन्न प्रथम देउमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता हेलिबोध एफसी बिब्ल्याँटेले जित्न सफल भएको छ । फाइनलमा भेनस एफसी, फिक्कललाई टाइब्रेकरमा पराजित गर्दै हेलिबोधले उपाधि रक्षा गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलमा पहिलो गोल हेलिबोधले नै गरेको थियो । तर, इन्जुरी समयको एक मिनेट सम्हालिन नसक्दा भेनसले बराबरी गोल गरेर खेलमा फर्किएको थियो ।

पहिलो हाफको २३औँ मिनेटमा हेलिबोधका सुमन धमलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम मिनेटमा भेनसका लागि शेखर राईले गोल गरेर बराबरी गरे । सचिन यल्मोले फ्रिकिकबाट मिलाइदिएको पासमा शेखरले गोल गरेका थिए ।

टाइब्रेकरमा ४–२ गोलअन्तरबाट हेलिबोथ विजयी बन्यो । टाईब्रेकरमा भेनसका कप्तान कुशल गुरुङ र शौरभ कार्कीको प्रहार बाहिरिएको थियो भने सचिन यल्मो र सुसन कार्कीको प्रहार मात्र गोलमा परिणत भयो ।

हेलिबोथका लागि केशव गुरुङ, प्रदिप विष्ट, अनिष थापा र अनमोल राईले गोल गर्न सफल भए । विजेता बनेको हेलिबोधले नगद १ लाखसहित ट्रफी हात पार्यो । त्यस्तै उपविजेता भेनसले ५० हजारमा चित्त बुझायो ।

युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित गोल्डकपमा ८ टोली सहभागी थिए ।

Post Comments