News फिफा र युइएफएद्वारा रसियन फुटबलमाथि 'अनिश्चितकालिन प्रतिवन्ध'
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व र युरोपियन फुटबलको दुई सर्वोच्च निकाय फिफा र यूइएफएले रसियन फुटबल (एफए) माथि अनिश्चितकालिन प्रतिवन्ध लगाएको छ । हाल रसियाले युक्रेनमाथि गरेको सैनिक हस्तक्षेप र आक्रमणका कारण सो प्रतिवन्ध लगाइएको हो ।

फिफा र युइएफएले अर्को सूचना जारी नहुँदासम्मका लागि रसियाको राष्ट्रिय फुटबल टोली र रसियन क्लबहरुमाथि प्रतिवन्ध लगाइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो नतिजासँगै रसियाले अर्को महिना हुने फिफा विश्वकप छनौटको प्ले अफ म्याच खेल्न नपाउने भएको छ । रसियाले मार्च २४ तारीखका दिन पोल्याण्डसँग प्ले अफ म्याच खेल्ने कार्यक्रम थियो । त्यस्तै महिला फुटबल टोलीले पनि यसै बर्ष हुने युरो च्याम्पियनसिप खेल्न नपाउने निश्चित भएको छ ।

त्यस्तै हाल प्रतिष्ठित युरोपा लिग खेलिरहेको स्पार्टक मस्कोले पनि नकआउट चरणमा आरबी लिपजिगसँगको खेल खेल्न नपाउने भएको छ । यो निर्णयपछि लिपजिग क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

Post Comments