News बी डिभिजन लिग शुरु, पहिलो दिन तीन खेलहरु सम्पन्न
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु शहिद स्मारक बी डिभिजन लिगतर्फ पहिलो दिन तीन खेलहरु सम्पन्न भएका छन् । एन्फा कम्प्लेक्स्मा सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबलाई ३–१ ले हरायो ।

श्री भगवतीको जितमा अनिल गुरुङले २४औं मिनटमा पहिलो गोल गरे । तर ३७औं मिनटमा झम्सीखेलका लागि मन कुमारले बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि श्री भगवतीले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

५१औं मिनटमा रमेश उराले दोस्रो गोल थप्दा लगतै ५३औं मिनटमा मिलन खड्काले तेस्रो गोल गर्दै श्री भगवतीको जित पक्का गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबले बाँसबारी क्लबलाई समान ३–१ ले हरायो । खेलको छैठौं मिनटमै बिकी राईको गोलबाट बाँसबारीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

२१औं मिनटमा बिक्रम बिशम्खेले सरस्वतीका लागि बराबरी गोल फर्काए । ८७औं मिनटमा सिर्जन लामाले दोस्रो गोल गर्दा अन्तिमतिर भुपेन्द्र शाहीले तेस्रो गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।

बुधबार नै भएको तेस्रो खेलमा ब्वाईज युनियन क्लबले बिरगंज युनाइटेडलाई १–० ले हरायो । ब्वाईज युनियनका लागि ६४औं मिनटमा मिलन लिम्बुले एक मात्र निर्णायक गोल गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख हात पार्नेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीहरुले क्रमशः १० लाख र ५ लाख प्राप्त गर्नेछन् ।

आगामी चैत्र २७ गतेसम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाईरहेका छन् । लिगको शिर्ष दुई टोली ए डिभिजनमा बढुवा हुनेछ ।

Post Comments