News बागमतीसँग एनआरटी स्तब्ध
गोलनेपाल

धनगढी । ए डिभिजन लिगमा दोस्रो स्थान हासिल गरेको न्युरोडटिम (एनआरटी) यहाँ जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा निराश बनेको छ ।

शुक्रबार धनगढी रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले बागमती युवा क्लबसँग टाईब्रेकरमा ३–४ ले पराजित हुन पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

एनआरटीले खेलमा बनाएको २–० को अग्रता जोगाउन नसक्दा निराश बन्न पुग्यो । एनआरटीका लागि ६८ र ७३औं मिनटमा स्टेफनले दुई गोल गरेका थिए । उनले दोस्रो गोल भने पेनाल्टीबाट गरेका थिए ।

यद्यपि बागमतीले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ८३औं मिनटमा बिमल घिसिङले बागमतीका लागि पहिलो गोल गरे भने त्यसको तीन मिनट लगतै बिजय घलानले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा बागमतीका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन २१ गतेको खेल हिमालयन शेर्पा क्लब र नव जनजागृति युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments