News एनएसएलको अक्शन सम्पन्न, बिकेनन् भरत र अभिषेक
गोलनेपाल

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडीहरुको लिलामी कार्यक्रम सम्पन्न भएको छ ।

सोल्टी होटलमा सम्पन्न अक्शन कार्यक्रममा यसपटक थपिएका तीन क्लबसहित कुल १० क्लबहरुले आ–आफ्ना मार्की खेलाडीहरुसहित कुल १६ खेलाडीहरुलाई क्लबमा आवद्ध गरे ।

यसपटक ए क्याटगोरीमा परेका आर्मीका कप्तान भरत खवास र राष्ट्रिय फरवार्ड अभिषेक रिजाल बिकेनन् । चोटका कारण पछिल्लो समय लय गुमाएका भरतले गत सिजन एनएसएलमा एफसी चितवनको कमान सम्हालेका थिए । उनले हालै सम्पन्न ए डिभिजन लिगमा पनि आर्मीका लागि नियमित खेलेका थिए ।

त्यस्तै अभिषेकले भने केही समय भारतीय लिगमा बिताए पनि पछि नेपाल सुपर लिगका लागि बुटवल लुम्बिनी एफसीमा आवद्ध भएका थिए । त्यति मात्र नभएर अभिषेकले यसै सिजन ए डिभिजन लिगमा मच्छिन्द्र एफसीका लागि लिग उपाधि पनि जितेका थिए ।

त्यसैगरी यसपटक चल्तीका खेलाडीहरु नितिन थापा, बिक्रम धिमाललाई पनि कसैले बोली लगाएनन् । स्मरण रहोस, हाल प्रत्येक टोलीहरुले १५–१५ खेलाडी (मार्की बाहेक) खरिद गरे तापनि ती क्लबहरुले पछि विदेशी खेलाडीसहित बढीमा २३ सदस्यीय टिम बनाउन पाउने छन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी चैत्र २६ गतेदेखि शुरु हुने कार्यक्रम छ । साथै प्रतियोगिता यसपटक काठमाडौं बाहिर पनि आयोजना गर्ने तयारीमा रहेको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

सुपर लिगमा सहभागि क्लबका मार्की खेलाडीहरुः

बिकेश कुथु (काठमाडौं रेजर्स), अन्जन बिष्ट (झापा एफसी), बिशाल श्रेष्ठ (बुटवल लुम्बिनी एफसी), अनन्त तामाङ (एफसी चितवन), बिशाल राई (धनगढी एफसी), बिमल घर्ती मगर (ललितपुर सिटी एफसी), सुजल श्रेष्ठ (पोखरा थन्डर्स), देवेन्द्र तामाङ (बिरगंज युनाइटेड एफसी), रजिन धिमाल (बिराटनगर सिटी एफसी), तेज तामाङ (स्र्पोटिङ मेची डि इलाम)

Post Comments