News वार्ड नम्बर १० फाइनलमा, उपाधिका लागि ४ सँग भिड्ने
गोलनेपाल

दुहबी । टाईब्रेकरमा निकालेको रोमाञ्चक जितसँगै वार्ड नम्बर १० यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ६ लाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यअघि श्री सरस्वती मा वि.को खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा वार्ड नम्बर ६ ले दुई गोलको स्पष्ट अग्रता जोगाउन सकेन । १९औं मिनटमा अमित चौधरी र २७औं मिनटमा मनिष बिकले वार्ड नम्बर ६ का लागि गोल गरे तापनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो ।

उता वार्ड नम्बर १० का लागि ५९औं मिनटमा कुन्दन चौधरीले पहिलो गोल फर्काए भने ७२औं मिनटमा समित चौधरीले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा वार्ड नम्बर १० का हेमन्त कुमार खाँ म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी सुनिता दाहाल साहले नगद २ हजार र मेडलसहित पुरस्कृत गरेकी थिईन् ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गते आइतबार वार्ड नम्बर १० र ४ का बिच हुनेछ ।

Post Comments