News नेक्ससलाई अर्किड कपको उपाधी
गोलनेपाल

काठमाडौं । नेक्सस स्कुल छैटौं अर्किड कप सेभेन ए साईड अन्तराबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधी उचाल्न सफल भएको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा मनकामना स्कुललाई ३ – १ गोल अन्तरले पराजित गर्दै नेक्ससले उपाधी उचालेको हो ।

नेक्ससका लागि तीनै गोल राज पुन मगरले गरेका थिए । पहिलो हाफको पहिलो मिनेटमानै राजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । यस्तै राजले खेलको २६ औं मिनटमा अर्को गोल गर्दै गोल अन्तरलाई २–० मा पुर्याए । दोश्रो हाफको ८ औं मिनटमा मनकामनाका सुमन सुनारले आफ्नो टोलीका लागि गोल गर्दै गोल अन्तरलाई २–१ मा झारे । दोश्रो हाफको १५ औं मिनटमा नेक्ससका राजले पुन अन्तिम तथा निर्णायक गोल गर्दै ब्यक्तिगत ह्याट्रिक सहित नेक्ससलाई उपाधि जिताउन नायक बने ।

यसका साथै विजेता नेक्ससले नगद ३० हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपबिजेता मनकामनाले नगद २० हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल गुड डे एकेडेमीले नगद १० हजार प्राप्त गर्यो ।

काँडाघारीस्थित अर्किड स्कुलको आयोजनमा भएको प्रतियोगितामा मनकामनाका अनिष डंगोल उत्कृष्ट खेलाडी चुनिए । यस्तै नेक्ससका निशान राना मगर उत्कृष्ट गोलरक्षक भए भने प्रतियोगिताको अनुशासित टोलीको उपाधी गुड डे एकेडेमीले हात पार्यो ।

बिजयी टिम तथा खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, आयोजक स्कुलका प्रिन्सिपल चोलेन्द्र कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

Post Comments