News नव युवा क्लब सेमिफाइनलमा
सुरज राना मगर

नर्सही । रोमाञ्चक जित निकाल्दै नव युवा क्लब, सुर्यनगर यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ नव युवाले सेन्ट्रल कलेज फोर ब्रदर्शलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको खेलको ३६औं मिनटमा मौसम रानाले नव युवाका लागि पहिलो गोल गरेका थिए । ६३औं मिनटमा मन्दिप गुरुङले त्यो अग्रता दोब्बर बनाए । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता पराजित फोर ब्रदर्शका लागि ७९औं मिनटमा अफ्रिकी खेलाडी याहुले एक मात्र गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

खेलमा नव युवाका मौसम राना म्यान अफ द म्याच घोषित भए । उनलाई नर्सही गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जंग राणाले ट्रफीसहित पुरस्कृत गरेका थिए । प्रतियोगिता अन्तरगत फागुन २१ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल राइजिङ स्टार, भूमही र भेट्रान्स युनाइटेड क्लब, बुटवल बीच हुने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा जरलैया युवा क्लब र एकता युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments