News उत्कृष्ट जितका साथ घरेलु टोली झापा सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । घरेलु टोली झापा­ ११ फुटबल क्लब सानदार जितसँगै यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५-१ को गोलअन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­ ११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले एक गोल उपहार दियो । 

तीन पेनाल्टी प्रहार पाएको झापा ११ का लागि विमल घर्तीले एउटा प्रहार मिस गर्दा ह्याट्रिक गर्नबाट चुके । यस्तै सिक्किमले एउटा पेनाल्टीको प्रहारमा गोल गर्न सफल बन्यो । 

रेडपान्डाका लागि ६६औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरेका हुन् । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । 

झापा ११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरेका हुन् । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे । 

५५औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरे । झापाका लागि तेस्रो गोल ५८औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।

७७औँ मिनेटमा विमल घर्ती मगरले नै पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । 

तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा विमलको प्रहारलाई सिक्किमका गोलरक्षक निन्डुप लेप्चाले पञ्च गर्दै बचाउँदा गोल्डकपका लागि ह्याट्रिक गर्न चुके । 

खेलको ८९औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

सिक्किमका कुनेमान थापाले खेलको १६औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरिएको थियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । 

प्रत्येक खेलमा प्लेयर अफ दि म्याचको पुरस्कार सौजन्य गरेका युवा व्यवसायी श्याम प्रसाईले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सिक्किमका गोलरक्षक निन्डुप लेप्चालाई नगद २ हजार प्रदान गरे । 

योसँगै पाँचौँ संस्करणको झापा गोल्डकपको सेमी समिकरण पूरा भएको छ । जितसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । गोल्डकप विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments