News तेस्रो बर्दिया जिल्ला पालिका कप शुरु, बासगढीको विजयी शुरुवात
सुरज राना मगर

बर्दिया । तेस्रो बर्दिया जिल्लापालिका कप नकआउट फुटबल प्रतियोगितामा बासगढी नगरपालिकाले विजयी शुरुवात गरेको छ । बढैयाताल–८ स्थित मयुर युवा क्लबको खेलमैदानमा भएको उद्घाटन खेलमा बासगढीले गुलरिया नगरपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको छ ।

बासगढीको जितमा अनिल मल्लले एक मात्र गोल गरे । निर्णायक गोलकर्ता मल्ल नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनलाई विशेष अतिथी सुन्दरमान श्रेष्ठले नगद १५ सय र ट्रफीसहित पुरस्कृत गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेका थिए । सो अवसरमा बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राजभण्डारी, प्रदेश नं. ५ का ग्रासरुट म्यानेजर रामजित थारु लगायतका अन्य अतिथीहरुको उपस्थिति रहेको थियो ।

आउँदो चैत्र २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments