News आर्मी झापा गोल्डकपको फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी नेपाल आइस पाँचौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि तीन संस्करणको उपाधि समेत जितिसकेको आर्मी समग्रमा चौथोपटक झापा गोल्डकपमा फाइनलमा पुगेको हो ।

शुक्रबार डोमालाल राजवंशी रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले सातदोबाटो युथ क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

खेल शुरु भएको २७औं मिनटमा आर्मीका लागि सुमन अर्यालले पहिलो गोल गरेका थिए । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा दिपकराज सिंह ठकुरीले सातदोबाटोका लागि बराबरी गोल फर्काए । तर दोस्रो हाफमा भने आर्मीले आफ्नो पकड जमायो ।

६०औं मिनटमा आर्मीका लागि सन्तोष तामाङले दोस्रो गोल थपे । त्यस्तै ८० र ८४औं मिनटमा टेक बुढाथोकीले लगातार दुई गोल गर्दै विभागीय टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।

खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ९ हजार ९९९ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन २८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल संकटा क्लब र घरेलु टोली झापा–११ बीच हुनेछ ।

यहि फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ ।

Post Comments