News कप्तान विवेकको गोलसँगै झरना सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । झरना स्पोर्टस् क्लब, कुञ्जलापुर जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार फर्साटिकर उच्च माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा झरनाले लिस्नु युवा क्लब, कोटिहवालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

झरनाको जितमा सुरज आले र कप्तान विवेक पुनले गोल गरे । खेलमा झरनाले तेस्रो गोल गर्ने अवसर पनि पाएको थियो । तर प्राप्त पेनाल्टीलाई झरनाका मोहन थापाले सदुपयोग गर्न सकेनन् । उनको प्रहार लिस्नुका गोलरक्षकले जोगाएका थिए ।

त्यस्तै उता पराजित लिस्नुका लागि एक मात्र गोल कृपा चौधरीले पेनाल्टीबाट गरे । खेलको म्यान अफ द म्याच झरनाका कप्तान विवेक पुन घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत पौष २२ गते मंगलबारको खेल आयोजक फर्साटिकर युवा क्लब र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका –४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments