News एनआरवाईसी बन्यो सेभेन ए साईड च्याम्पियन
सुरज राना मगर

तिलोत्तमा । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ मा सम्पन्न सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनआरवाईसीले जितेको छ ।

तिलोत्तमा–१ स्थित सिद्धार्थ क्लबको खेलमैदानमा भएको फाइनल भिडन्तमा एनआरवाईसीले झरना स्पोर्टस क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलमा एनआरवाईसीका लागि सुमित मल्लले एक मात्र निर्णायक गोल गरे ।

विजेता बनेको एनआरवाईसीले उपाधिसहित नगद ४० हजार हात पार्यो भने झरनाले २० हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी एनआरवाईसीका सुमित मल्ल घोषित भए ।

उत्कृष्ट गोलरक्षक पनि विजेता टोली कै विश्वास पुन घोषित हुँदा उदियमान खेलाडी सिद्धार्थ एफसीका अमर पुन चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार सिद्धार्थ कै सुरज घलानले हात पार्दा उत्कृष्ट प्रशिक्षक झरनाका बिमल पुन बने ।

विजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष तमनाथ पाण्डे, आयोजक चपरहट्टी फुटबल क्लब, तिलोत्तमा १ का अध्यक्ष युराज खरेल लगायतले पुरस्कृत गरेका थिए ।

साथै समापन कार्यक्रममा प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनेहरुलाई पनि मायाको चिनोका साथ सम्मान गरिएको प्रचार प्रसार संयोजक प्रितम थापा मगरले बताए ।

 

Post Comments