News यति एफसी (रातो) लाई कंडेल कन्सलटेन्सी कपको उपाधि
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीहरुबीच भएको प्रतिष्ठित ११औं कडेंल कन्सलटेन्सी कप खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक यति एफसी (रातो) ले जितेको छ । फाइनलमा यति एफसी (रातो) ले आयोजक कै निलो टोलीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो ।

विजेता बनेको यति एफसी (रातो) ले उपाधिसहित ४५ सय अष्ट्रेलियन डलर हात पार्यो भने उपविजेता यति (निलो) ले २ हजार अष्ट्रेलियन डलरमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलमा यति एफसी (रातो) का गोकुल छन्त्याल म्यान अफ द म्याच चुनिए । त्यस्तै गिरीष इभेन्ट स्र्पोटिङ क्लबले तेस्रो स्थान हासिल गर्यो । एडिलेड ड्रेगन एफसीले फेयर प्ले पुरस्कार हात पार्यो ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी यति (रातो) कै विवेक प्रताप पन्त घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार गिरीष इभेन्टका बिकास गौचन, रोयल वेस्टर्न एफसीका जगजित श्रेष्ठ तथा यति (निलो) का सुलभ मास्केले संयुक्त रुपमा हात पारे ।

त्यस्तै ३५ वर्ष माथिको उमेर समूहको प्रतियोगितातर्फ पारा पार्क एफसी च्याम्पियन बन्यो । फाइनलमा पारा पार्कले माछापुच्छ्रे एफसीलाई हराएको थियो ।

पारा पार्कका राईज लिम्बु सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि पारा पार्क कै कुनाल योन्जनले प्राप्त गरे । उत्कृष्ट गोलरक्षक र फाइनल खेलको म्यान अफ द म्याच पनि पारा पार्क कै समिर तुलाधर चुनिए । त्यस्तै क्रेगीबर्न ब्रिगेड एससीले फेयर प्ले पुरस्कार हात पार्यो ।

दुई दिने प्रतियोगितामा खुलातर्फ २४ टोलीहरुको सहभागिता रहेको थियो भने ३५ वर्ष उमेर समूहतर्फ ९ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments