News फराकिलो जितका साथ आमुक्ता परिवार सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । फराकिलो जितका साथ आमुक्ता परिवार पश्चिम बंगाल, भारत यहाँ जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा आमुक्ताले सतासीधाम स्र्पोटिङ क्लब, झापालाई शून्यका विरुद्ध ५ गोलको अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

आमुक्ताका लागि खेलको ३५औं मिनटमा बिशाल क्षेत्रीले पहिलो गोलको खाता खोलेका थिए । ४९औं मिनटमा देवासिस राईले त्यो अग्रता दोब्बर बनाए । ५६औं मिनटमा सौरभ तामाङले तेस्रो गोल थपे ।

खेलमा एकपक्षीय जित निकालेको आमुक्ताका लागि ६३औं मिनटमा बिशाल क्षेत्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे भने ७१औं मिनटमा सौरभ तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै भारतीय टोलीको जित पक्का गरेका थिए ।

खेलमा आमुक्ताका सौरभ तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नगद ३५ सय र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र ५ गतेको पहिलो सेमिफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल संघ र गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र ७ गतेका दिन हुनेछ ।

Post Comments