News सौरभको ह्याट्रिकसँगै आमुक्ता परिवार फाइनलमा
गोलनेपाल

भोजपुर । सौरभ तामाङले ह्याट्रिक गरेपछि पाहुना टोली आमुक्ता परिवार, पश्चिम बंगाल (भारत) यहाँ जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा आमुक्ताले राष्ट्रिय जागृति क्लब, सुनसरीलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा आमुक्ताका सौरभ तामाङले ४१, ४२ र ४३औं मिनटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि विश्वजित रोयले गोलको खाता खोलेका थिए । टोलीका लागि पाँचौं गोल ७०औं मिनटमा प्रविन सुब्बाले गरे भने त्यसको तीन मिनट लगतै देवासिस रोयले छैठौं गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

खेलको ६०औं मिनटमा राष्ट्रिय जागृतिका दिपेन तामाङले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दोस्रो हाफको अन्तिम समय दश खेलाडीमा खुम्चिन पुगेको थियो । जुन क्षण पनि टोलीको फराकिलो हारको कारक बन्यो ।

खेलमा ह्याट्रिककर्ता सौरभ तामाङ म्यान अफ द म्याच पनि चुनिए । उनलाई विशेष अतिथी कुमारी लक्ष्मी राईले नगद ३५ सय र ट्रफीका साथ पुरस्कृत गरिन् । अब आमुक्ता परिवारले फाइनलमा चैत्र ७ गते सोमबार गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीसँग उपाधिका लागि भिड्नेछ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

 

Post Comments