News दोस्रो मिल्स गोल्डकपमा गोधुलीको विजयी शुरुवात
गोलनेपाल

बिराटनगर । शुक्रबारदेखि शुरु दोस्रो मिल्स गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा गोधुली क्लब, धरानले विजयी शुरुवात गरेको छ । बिराटनगर जुट मिल्सको खेलमैदानमा भएको उद्घाटन खेलमा गोधुलीले उर्लाबारी–११ लाई सडन डेथमा ७–६ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा गोधुलीका गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार समेत प्राप्त गरे । यो जितसँगै गोधुली प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत चैत्र १२ गतेको दोस्रो क्वाटरफाइनल एन्फा एकेडेमी, धरान र दमक ऐकेडेमी, झापा बीच हुने आयोजकले जनाएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, बिराटनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments