News ओलावालेको दुई गोलसँगै मनाङ सेमिफाइनलमा
गोलनेपाल

दमक । उपाधिको दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ मनाङले बागमती युवा क्लब, सर्लाहीलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । मनाङको जितमा खेलको १४औं मिनटमा आफिज ओलावालेले पहिलो गोल गरेका थिए ।

तर लगतै २७औं मिनटमा बागमतीका लागि बिमल घिसिङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा भने बागमतीले खेलमा अग्रता बनायो । ५३औं मिनटमा जमुलले बागमतीका लागि दोस्रो गोल गरे । तर पनि मनाङ खेलमा फर्कियो ।

६७औं मिनटमा बागमतीका मार्टिनले आत्मघाती गोल गर्दा खेल २–२ को बराबरीमा पुगेको थियो । खेलको ७०औं मिनटमा ओलावालेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने ८१औं मिनटमा रुपेश केसीले चौथो गोल गर्दै मनाङको जित पक्का गरे ।

खेलमा मनाङका लागि दुई गोल गरेका ओलावाले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १२ गतेको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments