News कालिका स्पोर्टस भरौल गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । गोलको बर्षा भएको खेलमा रोमाञ्चक जित निकाल्दै कालिका स्पोर्टस क्लब, चितवन जारी वाईवाई पाँचौं भरौल अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा कालिका स्पोर्टसले विन्दवासिनी फुटबल क्लब, बिराटनगरलाई ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भरौल खेलमैदानमा भएको खेलको नवौं मिनटमा ग्लोरीको गोलबाट कालिकाले शुरुवाती अग्रता बनाएको थियो । तर ३२औं मिनटमा विन्दवासिनीका लागि मार्टिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफतर्फ शुरुवाती मिनटमै सुनिल खड्काको गोलबाट विन्दवासिनीले खेलमा अग्रता बनायो । त्यसको दुई मिनट लगतै सुशिल राईले तेस्रो गोल थपे । तर त्यो अग्रतालाई विन्दवासिनीले जोगाउन सकेन ।

तेस्रो गोल खाएको पाँच मिनट लगतै हरि कार्कीले कालिकाका लागि दोस्रो गोल फर्काए । दोस्रो हाफको २८औं मिनटमा रुप बहादुर लामाले कालिका लागि तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए । त्यसको चार मिनट लगतै हरि कार्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै कालिका स्पोर्टसको रोमाञ्चक जित सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका कालिका स्पोर्टसका हरि कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी अर्जुन कोइरालाले नगद ५ हजार र ट्रफी सहित पुरस्कृत गरे । अब उपाधिका लागि कालिका स्पोर्टसले चैत्र १९ गतेका दिन प्लानिङ ब्वाईज क्लब, काठमाडौंसँग फाइनल खेल्नेछ ।

न्यू स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments