फर्साटिकर । साँघुरो जितका साथ झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल म्याचमा झरनाले न्यु युथ युनियन, पाल्पालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
झरनाको जितमा पहिलो हाफको २९औं मिनटमा यानिकले गरेको एक मात्र गोल झरनालाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो । खेलमा झरनामा आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत चैत्र १८ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल गत संस्करणको फाइनलिस्ट केबिए ग्लोबल भरतपुर एफसी, चितवन र भैरव एफसी, नवलपरासी बीच हुने आयोजकले जनाएको छ ।
फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।