News एपिएफ सिमरा गोल्डकपको फाइनलमा
गोलनेपाल

सिमरा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जगदम्बा १२औं जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले बागमती युवा क्लबलाई ४–१ ले हराउँदै फाइनल प्रवेश पक्का गरेको हो ।

सिमरा रंगशालामा भएको खेलको १२औं मिनट मै सबिन गुरुङको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । लगतै १६औं मिनटमा अर्मान्डले त्यो अग्रता दोब्बर बनाए । तर पहिलो हाफ मै अनिल राना मगरले बागमतीका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलमा आवास लामिछानेले पेनाल्टी प्रहार सदुपयोग गर्न नसक्दा एपिएफले खेलमा थप अग्रता लिने अवसर गुमाएको थियो । यद्यपि ७९औं मिनटमा एपिएफका लागि अर्मान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने ८३औं मिनटमा प्रदिप लामाले चौथो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे ।

खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । एपिएफले अब फाइनलमा चैत्र १९ गतेका दिन न्युरोडटिम (एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments