News गोलबजार प्रतिभा एफसी बन्यो मिल्स गोल्डकप च्याम्पियन
गोलनेपाल

रानी । दोस्रो मिल्स गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गोलबजार प्रतिभा फुटबल क्लब, सिराहाले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा गोलबजारले साईनो स्पोर्टस कलब, रानी, बिराटनगरलाई २–१ ले हराउँदै उपाधि चुमेको हो ।

बिराटनगर जुट मिल्सको खेल मैदानमा सम्पन्न खेलको आठौं मिनटमा अलीको गोलबाट गोलबजारले खेलमा अग्रता बनाएको थियो । तर ४०औं मिनटमा फोफोनाले साईनोका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि ४६औं मिनटमा यमीले गोलबजारका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

विजेता बनेको गोलबजारले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता साईनाले १ लाखमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलको म्यान अफ द म्याच साईनो स्पोर्टसका फोफोना घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी गोलबजारका कुलदिप कार्की बने । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई राखेपका पूर्व सदस्य सचिव केशव विष्ट लगायतले पुरस्कृत गरे ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी बिराटनगरको आयोजनामा गत चैत्र ११ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments