News सुरेश निर्णायक बन्दा कालिका स्पोर्टस सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । सुरेश कुमालले गरेको निर्णायक गोलसँगै कालिका स्पोर्टस एकेडेमी, चितवन यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्टसले आयोजक फर्साटिकर युवा क्लब (रातो) लाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा फर्साटिकर निराश बन्न पुग्यो । खेलको दोस्रो मिनट मै अमित तामाङको आकर्षक फ्रिकिक गोलबाट आयोजकले खेलमा अग्रता लिएको थियो ।

तर ३३औं मिनटमा रुमेश बर्तौलाले कालिका स्पोर्टसका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफतर्फ ८१औं मिनटमा सुरेश कुमालले बक्स नजिकैबाट गरेको सटिक प्रहार गोलमा परिणत भएपछि कालिका स्पोर्टसले सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भएको थियो ।

खेलमा कालिका स्पोर्टस कै राजेन्द्र रावल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगितामा चैत्र २१ गते आराम दिइएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत चैत्र २२ गतेको पहिलो सेमिफाइनल खेल केबिए ग्लोबल भरतपुर एफसी, चितवन र कपिलवस्तु–११ बीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लब, शुद्धोधन गाउँपालिका–४ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

 

Post Comments