News बिटी कपमा आईतबार ९ खेल सम्पन्न
उमेश पुन

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आईतबार ९ खेल सम्पन्न भएका छन् ।

बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मानाराथा चर्च र शितल ज्योती क्लब बिच भएको पहिलो खेल निर्धारित समयमा गोलरहित भएपछि टाईबेकरमा २–१ गोल अन्तरले शितल ज्योती विजयी बन्यो ।

बिटी क्लबका अध्यक्ष विजया गुरुङका अनुसार दोस्रो खेलमा वाईसीएल हेम्जाको अनुपस्थितिमा मेरो नेपाल क्लब वाक ओभर मार्फत विजयी बन्यो । त्यसैगरी तेस्रो खेलमा बि पहेलोलाई एम फाईभ मालेपाटनले ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । मालेपाटनको जितमा मिलन मगरले २ गोलको योगदान दिए भने । फोनस कार्की, आशिस नेवार, सोम थिङ र सन्दिप क्षेत्रीले समान १/१ गोल गरे ।

सँगम टिम ‘बि’ र नदीपुर युनाईटेड बिच भएको चौथो खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाईबेकरमा नदीपुरले जित निकाल्यो । पाँचौ खेलमा ब्रदर युनिटीलाई करापुटारले ४–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । करापुटारको जितमा रामबाबु नेपालीले ह्याट्रिक गरे भने मुकेश दुराले १ गोल गरे ।

भदौरे एफसी र म्याक्सवेल पोखरा बिच भएको छैटौं खेल निर्धारित समय गोलरहित सकिएपछि टाईबेकरमा भदौरे एफसीले ३–२ गोल अन्तरले जित निकाल्यो । सातौ खेलमा हेम्जा युनाईटेड ‘बि’लाई डिफेण्डिङ च्याम्पियन एम टुभेलले ३–० गोल अन्तरले पराजिगत गर्दै दास्रो चरणमा प्रवेश गर्याे ।

एम टुभेलको जितमा अभिनाश तामाङले २ गोल गरे भने समिर प्रधानले १ गोलको योगदान दिए । आठौं खेलमा भलाम एफसीलाई एम टुभेल टिम ‘बि’ ले १–० गोल अन्तरले पराजित गर्याे । एम टुभेल टिम बिको जितमा मानव जिसीले निर्णायक गोलको योगदान दिए ।

आइतबार सम्पन्न अन्तिम खेलमा बाईलेस क्लाले गार्डेन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । बाईलेसको जितमा अन्जल महर्जनले निर्णायक गोल गरेका थिए । आयोजकका अनुसार सोमबार पनि पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ ।

Post Comments