News क्यामरुनी टोलीलाई हराउँदै रोलिङ क्लब सेमिफाइनलमा
गोलनेपाल

इटहरी । रोलिङ क्लब,झापा यहाँ जारी कन्ट्रोल १२औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वाटरफाइनल भिडन्तमा रोलिङले एभनिर एफसी, क्यामरुनलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । इटहरी रंगशालामा भएको खेलको २७औं मिनटमा केन्नीको गोलबाट एभनिरले खेलमा अग्रता लिएको थियो ।

तर २८औं मिनटमा फोडे फोफोनाले रोलिङका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो गोल भने खेलको अन्तिमतिर इन्जुरी समयमा मार्टिनले गर्दै झापाली टोलीको जित पक्का गरे ।

खेलमा रोलिङ क्लबका पिटर म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी चन्द्रराज भट्टराईले नगद १० हजार र ट्रफीसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत चैत्र २२ गतेको अन्तिम क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी) र सगरमाथा युथ क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments