News जुझारु पाल्पामाथि संघर्षपुर्ण जितका साथ फर्साटिकर फाइनलमा
गोलनेपाल

बुटवल । प्रतियोगिताको शुरुवातबाटै सुन्दर खेल पस्किएको पाहुना टोली पाल्पा–११ माथि संघर्षपुर्ण जित निकाल्दै आयोजक फर्साटिकर युवा क्लब जारी सातौं फर्साटिकर कपको फाइनलमा प्रवेश गरेकोे छ ।

पौष २४ गते बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा फर्साटिकरले जुझारु पाल्पामाथि सडन डेथमा ६–५ को जित निकाल्यो । रोमाञ्चक रहेको दोस्रो सेमिफाइनल खेलमा निर्धारित ८० मिनटको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेले ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलको ५९औं मिनटमा कप्तान सुजन रानाले बक्स नजिकैबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो । तर, पाल्पाले खेलमा उत्कृष्ट पूनरागमन गर्यो ।

पहिलो गोल खाएर घरेलु समर्थकहरुको चर्को समर्थनका बीच पनि पाल्पा हतोत्साहित देखिएन । साथै, खेलमा फर्कन पनि पाल्पालाई धेरै समय लागेन । गोल खाएको पाँच मिनट बित्न नपाउँदै ६३औं मिनटमा कप्तान जनम मान लिगलले पाल्पाका लागि रोमाञ्चक बराबरी गोल गरे ।

स्मरणीय छ, खेलको दोस्रो हाफमा दुवै टोली दश खेलाडीमा सिमित हुन पुगेका थिए । बल खोस्ने क्रममा फर्साटिकरका राजु चौधरी र पाल्पाका किरन सुनार विवादमा उत्रिए पछि दुवै खेलाडीलाई रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए ।

बिहीबारको खेलमा फर्साटिकरका कप्तान सुजन राना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । फर्साटिकरले अब उपाधिका लागि पौष २६ गते शनिबार भैरव एफसी, नवलपरासीसँग फाइनल खेल्नेछ ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका –४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments