News जगजित सहित ६ खेलाडी एन्फाको कारवाहीमा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी लिगको पाँचौं चरणको दोस्रो खेलतर्फ मनाङ र मच्छिन्द्रका खेलाडीहरु बीच भएको हातपातको घट्नामा दोषी पाइएका खेलाडीहरुलाई कारवाही गरेको छ ।

सोमबार भएको मनाङ र मच्छिन्द्र विरुद्धको खेल नियमित समय २–२ को बराबरीमा सकिएको थियो । खेल सकिएपछि नै खेलाडीहरु विवादसँगै हातपातमा उत्रिएका थिए ।

उक्त घट्नालाई गम्भिरताका साथ लिएको एन्फाले छानविन समिति समेत गठन गरेको थियो । एन्फाको निर्णयअनुसार मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेलको प्रतिबन्ध र जनही १०–१० हजार जरिवाना गरेको छ ।

त्यति मात्र नभएर एन्फाले मनाङ कै रन्जन बिष्ट तथा मच्छिन्द्र क्लबका दिपक राई, देवेन्द्र तामाङ र बिजय धिमाललाई दुई खेलको प्रतिबन्ध लगाएको छ । यद्यपि, यी चार खेलाडीहरुले जरिवाना भने तिर्नु पर्ने छैन ।

त्यस्तै एन्फाले मनाङका टिम अफिसियल शिव लामालाई पनि लिगको बाँकी सबै खेलका लागि प्रतिबन्ध लगाएको छ भने दश हजार जरिवाना समेत गरेको छ ।

मनाङ र मच्छिन्द्रलाई पनि जरिवाना

त्यस्तै एन्फाले मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबलाई पनि जरिवाना गरेको छ । गोलनेपालका अनुसार दुवै क्लबले आफ्ना खेलाडीहरुलाई अनुशासनमा राख्न र नियन्त्रण गर्न नसकेको भन्दै कारवाही स्वरुप ५०–५० जरिवाना गरेको हो ।

Post Comments