भरतपुर । अभिषेक चर्च रजहर दोस्रो पटक भरतपुर १८ गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकर युवा क्लबलाई टाईब्रेकरमा हराउँदै अभिषेक चर्चले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा अभिषेक चर्चले फर्साटिकरलाई सडन डेथमा निराश बनायो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको पहिलो हाफमा सुजित बुढाथोकीको गोलमा अभिषेक चर्चले अग्रता लियो ।
दोस्रो हाफमा अनुज निउरेले फर्साटिकरका लागि बराबरी गोल फर्काए । थप समयमा गोल हुन सकेन र खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ५-५ को बराबरीपछि सडन डेथमा अभिषेक चर्चले बाजी मार्यो ।अभिषेक चर्चका रोशन पहारी प्लेयर अफ दि म्याच बने ।
अभिषेक चर्चले अब उपाधिका लागि ३० गते शुक्रबार अठ्ठाईस बिघा युवा क्लबको सामना गर्नेछ । अठ्ठाईस बिघा यसअघि पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेडलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।