News खेलाडीहरुको एन्फालाई ज्ञापनपत्रः हामी भागेका होईनौं
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार खेलाडीहरुसँगै अखिल नेपाल फुटबल खेलाडी संघले पनि एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाएका हुन् ।

खेलाडीहरुले बुझाएको ज्ञापनपत्रमा उनीहरुले बाहिर समाचारमा आए जस्तो आफूहरुले बन्द प्रशिक्षण छाडेर भागेको कुरा सत्य नभएको बताएका छन् । विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्रिय टोलीका लागि खेल्ने आफूहरुको सानैदेखि सपना रहेको पनि पत्रमा उल्लेख गरेका छन् ।

“प्रशिक्षणका दौरान टोलीको कार्यवाहक नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्न पश्चात जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेको व्यवहारप्रति हाम्रो असन्तुष्टी थियो । त्यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक पटक क्याम्प छोड्न भनेपछि हामी बाहिरिएका हौं ।” खेलाडीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

रोहित चन्दद्वारा बुझाइएको सो ज्ञापनपत्रमा खेलाडीहरुले टोलीका प्रशिक्षक, व्यवस्थापक लगायत सम्बन्धित सबैलाई जानकारी गराएर क्याम्प छाडेको कुरा पनि उल्लेख गरेका छन् । साथै घट्नाबारे एन्फाका पदाधिकारीहरुले आफूहरु विरुद्ध अनावश्यक प्रतिक्रिया दिनुले आफूहरुलाई दुःख लागेको पनि उल्लेख गरेका छन् ।

हेर्नुहोस खेलाडीहरुले बुझाएको पत्रको पूरा अंशः

फुटबल खेलाडी संघको पनि ज्ञापनपत्र

त्यस्तै सोमबार नै अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले पनि एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाएका छन् । पत्रमा एएफसी एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीहरुलाई मुख्य प्रशिक्षकले नै क्याम्प छाड्न भनेको कुरा उल्लेख गरेका छन् ।

साथै राष्ट्रिय टोलीका व्यवस्थापकले सञ्चारमाध्यमहरुलाई सार्वजनिक रुपमा खेलाडीहरुको विषयमा गलत टिप्पणी गरेको र त्यसले सबै खेलाडीहरुलाई दुःखित तुल्याएको पनि पत्रमा उल्लेख छ ।

“यसरी खेलाडीहरुमाथि सार्वजनिक रुपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरु खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । उन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारवाही गरोस भन्ने हामीले माग राखेका छौं ।” खेलाडी संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ ।

हेर्नुहोस खेलाडी संघको ज्ञापनपत्रको पूरा अंशः

 

Post Comments