News नेपालले ओमान र टिमोर लेस्टेसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । नेपाली टोली बुधबार नै कतारतर्फ प्रस्थान गरेको छ । यद्यपि एन्फाले नेपाली टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरेको थियो ।

कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलहरुको खेलतालिका सार्वजनिक गर्दै नेपालले पूर्वी टिमोर (टिमोर लेस्टे) र ओमानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको हो । नेपालले १४ जेठ शनिबारका दिन टिमोर लेस्टेसँग पहिलो म्याच खेल्नेछ । जुन खेल दोहास्थित ग्राण्ड हमाद स्टेडियममा हुनेछ ।

त्यस्तै दोस्रो खेल भने जेठ २० गते शुक्रबारका दिन ओमानसँग खेल्नेछ । जुन खेल दोहा स्थित सुहिम बिन हमाद स्टेडियममा हुने कतार एफएले जनाएको छ । स्मरण रहोस, एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डनले पनि कतार मै भारत र अष्ट्रेलियासँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियासँग खेल्नेछ । जुन ८ तारीखका दिन नेपालले जोर्डनसँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै नेपालले ११ जुनका दिन कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

Post Comments