News मेघराजलाई यु–२० टोलीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलका अनुभवी र सफलतम प्रशिक्षकमा दरिएका मेघराज केसीले नेपाली यु–२० फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

आगामी वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एसियन कप छनौटका लागि केसीलाई नेपाली यु–२० टोलीको जिम्मेवारी दिइएको हो । एन्फाको प्राविधिक कमिटीको सिफारिमा केसीलाई यु–२० टोलीको जिम्मेवारी दिइएको बताइएको छ ।

केसीले गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा नवआगन्तुक टोली सातदोबाटो युथ क्लबको जिम्मेवारी सम्हालेका थिए । केसी कै नेतृत्वमा सातदोबाटोले पहिलो सिजन मै उत्कृष्ट प्रदर्शन गर्दै लिगतालिकाको चौथो स्थानमा रहेर सिजनको समापन गरेको थियो ।

घरेलु फुटबलमा आफ्नो विशेष पहिचान बनाईसकेका केसीले यसअघि रुस्लान थ्रीस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब जस्ता घरेलु फुटबलका चर्चित र सफल क्लबहरुको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

स्मरण रहोस, एएफसी यु–२० एसियन कप छनौटतर्फ समूह बी मा परेको नेपालले आयोजक बहराईन, कतार, भुटान र बंगलादेशसँग खेल्ने तय भईसकेको छ । समूह बी का खेलहरु आउँदो सेप्टेम्बर १० देखि १८ तारीखसम्म हुनेछ ।

एन्फाले नेपाली यु–२० टोली बनाउन देशव्यापी रुपमा खेलाडीहरुको छनौट गर्ने गरि पत्राचार समेत गरिसकेको छ । खेलाडी छनौट पछि छिटै यु–२० फुटबल टोलीको प्रशिक्षण पनि शुरु गरिने बताइएको छ ।

 

Post Comments