
हेटौडा । विभागीय भिडन्तमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाइनलमा आर्मीले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
आर्मीले पहिलो हाफ मै पेनाल्टी पाएको थियो । एपिएफका कप्तान टोप बिष्टले बक्सभित्र ह्याण्डबल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । यद्यपि आर्मीका विवेक बस्नेतको पेनाल्टी प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले विफल तुल्याईदिएका थिए ।
दोस्रो हाफमा ेफेरि आर्मीले पेनाल्टीको अवसर पायो । दोस्रो पेनाल्टीलाई भने दिनेश हेन्जनले कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भएका थिए । तर खेलको इन्जुरी समयमा सुदिप सिख्राकारले एपिएफका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
पेनाल्टी शुटआउटमा भने नतिजा आर्मीले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत जेठ २४ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा