News कुम्मायाक गाउँपालिका तेस्रो कुम्मायक गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कुम्मायाक गाउँपालिका तेस्रो कुम्मायक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजदेखि पाँचथरको पृथ्वी माविको खेलमैदान यासोकमा सुरु उद्घाटन खेलमा तुम्बेवा गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै कुम्मायकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा तुम्बेवाले अग्रता लिए पनि बाँकी समय कुम्मायकले आफ्नो पक्षमा पार्यो ।

खेलको १९औँ मिनेटमा राजेश थापाले गोल गर्दै तुम्बेवा टिमलाई अग्रता दिलाएका थिए । तर, २९औँ मिनेटमा कुम्मायकका दिप्सन लावतीले आकर्षक हेड ड्रप गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफमा कुम्मायक हाबी भयो । दिप्सनले नै दोस्रो हाफको १९औँ मिनेटमा हेडरमार्फत अर्को गोल गरेर अग्रता दिलाए । रोमाञ्चक बनेको दोस्रो हाफको खेलमा कुम्मायककै लोकेन्द्र थापाले २९औँ मिनेटमा गोल गरेर ३–१ को स्थितिमा पुराए ।

खेलमा फर्किने प्रयास गरेको तुम्बेवाका लागि दोस्रो हाफको ३४औँ मिनेटमा फेरि राजेश थापाले गोल गरेर गोलअन्तर कम गरे पनि जीतका लागि सम्भव भएन । खेलको म्यान अफ दी म्याच कुम्मायक गाउँपालिकाका दिप्सन लावती घोषित भए । उनले नगद ३ हजार पाए ।

पाँचथर जिल्लाका ८ पालिका सहभागी गोल्डकप स्थानीय कुम्मायक स्पोर्टिङ क्लबले आयोजना गरेको हो ।

गोल्डकपमा भोलि (बिहीबार) पहिलो खेल फालेलुङ र हिलिहाङ गाउँपालिका तथा दोस्रो खेल फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबीच हुने आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए । गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ ।

गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।

Post Comments