News एसियन कप छनौटमा नेपालको लगातार दोस्रो हार
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले समूह चरणको आफ्नो लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ । बुधबार राती पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपालले शनिबार राती आयोजक कुवेतसँग ४–१ ले निराश हुन पुग्यो ।

पहिलो खेलमा भन्दा तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको नेपालले कुवेत विरुद्ध आक्रमणको जालो पनि बुनेको थियो । तर नेपालको गोल गर्ने प्रयास अन्तिम समयमा मात्र सम्भव भयो । नेपालका लागि इन्जुरी समयमा दर्शन गुरुङले एक मात्र गोल फर्काए ।

त्यस्तै खेलका क्रममा दोस्रो हाफ मै मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरी अस्वस्थ्य भई मैदान मै ढल्दा नेपाली खेलाडीहरुमा केही मानसिक दबाब पर्न पुगेको आभाष देखिन्थ्यो ।

अल्मुताइरीको स्वास्थ्य स्थितिबारे यो समाचार तयार पार्दासम्म केही जानकारी प्राप्त भएको छैन । यद्यपि आवश्वक स्वास्थ्य परिक्षण पश्चात नै उनको अवस्था स्थितिबारे भन्न सकिने एन्फा स्रोतले जनाएको छ । मुख्य प्रशिक्षक अल्मुताइरीको अनुपस्थितिमा उनको जिम्मेवारी सहायक प्रशिक्षक किरन श्रेष्ठले लिएका थिए ।

यो लगातार दोस्रो हारले नेपालको छनौट प्रतियोगिताको सम्भावना समाप्त भएको छ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल मंगलबार इण्डोनेसियासँग खेल्नेछ । स्मरण रहोस, इण्डोनेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई २–१ ले हराएको थियो । साथै शनिबार मध्यरात मै इण्डोनेसियाले जोर्डनसँग खेल्ने कार्यक्रम छ ।

Post Comments