News भलुवा गोल्डकप शुरु, औरावनीको शानदार शुरुवात
गोलनेपाल

दुहबी । शनिबारदेखि शुरु आठौं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा औरावनी युथ क्लब, सुनसरीले शानदार शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खलमा औरवानीले नेपाल पुलिस क्लब, प्रदेश १, मोरङलाई शून्यका विरुद्ध ६ गोलले हरायो ।

भलुवा खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा औरवानीका लागि म्याक्सवेलले ह्याट्रिकसहित पाँच गोल गरे । उनले खेलको १७, २५ र ४६औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै ५७ र ७४औं मिनटमा थप दुई गोल थपेका थिए । औरावनीका लागि थप एक गोल भने ६०औं मिनटमा रितिक खड्काले गरेका थिए ।

यो जितसँगै औरवानी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा पाँच गोल गरेका औरावनीका म्याक्सवेल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ २९ गते आइतबारको खेल संयुक्त युवा क्लब, सुनसरी र पथरी स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले गरेका थिए ।

गोल्डेन स्टार युथ क्लब, दुहबी सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असार ६ गतेका दिन हुनेछ ।

Post Comments