News भारतको दोस्रो जित, श्रीलंका, माल्दिभ्स र बंगलादेश पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ शनिबार दक्षिण एसियाली राष्ट्रको नतिजा अपेक्षाकृत सुखद रहेन । समूह डी मा रहेको भारतले लगातार दोस्रो जित दर्ता गर्दा समूह सी मा रहेको श्रीलंका, माल्दिभ्स तथा समूह ई मा रहेको बंगलादेशले भने हार बेहोरेका छन् ।

कोलकातामा सम्पन्न खेलमा भारतले अफगानिस्तानमाथि २–१ को जित निकाल्यो । भारतले यसअघि आफ्नो पहिलो खेलमा कम्बोडियालाई २–० ले हराएको थियो । सोही समूहमा रहेको हङकङले पनि शनिबार कम्बोडियामाथि ३–० को सहज जित निकाल्यो ।

लगातार दुई हारसँगै अफगानिस्तान र कम्बोडिया समूह चरणबाट बाहिरिएका छन् । यद्यपि यी दुई टोली मंगलबार समूह चरणको अन्तिम खेलमा आमने सामने हुनेछन् । उता भारत र हङकङको सम्भावना भने कायम छ । यी दुई टोली पनि मंगलबार नै निर्णायक भिडन्तका रुपमा आमने सामने हुने छन् ।

त्यस्तै समूह सी मा रहेको श्रीलंकाले थाइल्याण्डसँग २–० को हार बेहोर्यो भने सोही समूहमा रहेको माल्दिभ्सले उज्वेकिस्तानसँग ४–० ले पराजित भयो । लगातार दोस्रो हार बेहोरेका श्रीलंका र माल्दिभ्स पनि समूह चरणबाट बाहिरिएका छन् ।

त्यसैगरी समूह ई मा रहेको बंगलादेशले समूह चरणको आफ्नो दोस्रो खेलमा तुर्कमेनिस्तानसँग २–१ ले पराजित भयो । बंगलादेशले आफ्नो पहिलो खेलमा बहराईनसँग २–० को हार बेहोरेको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशले मंगलबार आयोजक मलेसियाको सामना गर्नेछ ।

 

Post Comments