News देउराली र शनिश्चरे सेमिफाइनलमा
गोलनेपाल

इटहरी । देउराली एफसी, धनकुटा र शनिश्चरे एफसी, झापा यहाँ जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार सम्पन्न पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ देउरालीले रेडहर्ष एफसी, इलामलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । इटहरी रंगशालामा सम्पन्न खेलमा देउरालीका लागि योगेश लिम्बुले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता योगेश लिम्बु खेलको म्यान अफ द म्याच समेत चुनिए । उनलाई खेलका प्रमुख अतिथी रितेश श्रेष्ठले नगद २१ सय र मेडलका साथ पुरस्कृत गरे ।

त्यस्तै आइतबार नै भएको दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरेले बाक्सिला फुटबल क्लब, खोटाङलाई ४–२ ले हरायो र सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

इटहरी रंगशालामा सम्पन्न खेलमा शनिश्चरेका लागि श्याम मुर्मुले दुई गोल गरे भने सौरभ लिम्बु र पुजन राईले एक–एक गोल गरे । उता पराजित बाक्सिलाका लागि प्रशान्त राई र बिक्की राईले गोल गरे ।

खेलमा दुई गोल गरेका शनिश्चरेका श्याम मुर्मु म्यान अफ द म्याच समेत चुनिए । उनलाई खेलका प्रमुख अतिथी दिवस पोख्रेलले नगद २१ सय र मेडलका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत जेठ ३० गते सोमबारको पहिलो सेमिफाइनल खेल मोतीराम फुटबल क्लब, मोरङ र धरान फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

प्रदेश खेलकुद बोर्ड, बिराटनगरको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार १ गतेका दिन हुनेछ ।

 

Post Comments