News आर्मी च्याम्पियन, अशोकलाई ‘बुलेट बाईक’
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा घरेलु टोली विजय युथ क्लबलाई २–१ ले हराउँदै आर्मी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

पिप्ले रंगशालामा भएको फाइनल भिडन्तमा खेलको १५औं मिनटमै आर्मीका कप्तान भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको दश मिनट लगतै विजय युथले पेनाल्टीको अवसर पायो । आर्मीका युद्ध शाहीले बिमल रानालाई बक्स भित्र लडाएपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको हो । जसलाई डोना थापाले सहजै गोलमा परिणत गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याए ।

त्यस्तै दोस्रो हाफमा कमल बहादुर थापाको गोलबाट आर्मीले खेलमा दोस्रोपटक अग्रता बनायो । जुन खेलको निर्णायक नतिजा र अग्रता पनि बन्यो । खेलमा आर्मीले पेनाल्टीको अवसर पनि पाएको थियो । तर दिनेश हेन्जनले त्यो पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद १५ लाख हात पारेको छ भने उपविजेता विजय युथले १० लाखमा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

सर्वोत्कृष्ट अशोकलाई बुलेट बाईक

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजय युथका कप्तान तथा गोलरक्षक अशोक बराल चुनिए । उनले त्यसवापत आकर्षक बुलेट बाईक हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकको पुरस्कार क्रमशः आर्मीका बिकेश कुथु, बिमल पाण्डे, विवेक बस्नेत र नविन न्यौपानेले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैलाई अवार्डसहित जनही २५–२५ हजार हात पारे ।

 

 

Post Comments