
इटहरी । मोतिराम स्र्पोटिङ क्लब, मोरङ यहाँ जारी प्रथम प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार इटहरी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा धरान एफसी, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै मोतिराम उपाधि नजिक पुगेको हो ।
मोतिरामको जितमा ५८औं मिनटमा उमेश कार्कीले पहिलो गोल गरे भने लगतै धरानका बिष्णु सुनुवारले आत्मघाती गोल गरेपछि मोतिरामको जित दोस्रो हाफमा सुनिश्चित बनेको थियो ।
खेलमा मोतिरामका उमेश कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी जितेन्द्र थापाले नगद २१ सय र मेडलसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत जेठ ३१ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल देउराली एफसी, धनकुटा र शनिश्चरे एफसी, झापाबीच हुने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद बोर्ड, बिराटनगरको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने जेठ १ गतेका दिन हुनेछ ।