News उत्कृष्ट जितका साथ औरावनी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट जित हात पार्दै औरावनी युथ क्लब यहाँ जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा औरावनीले आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवालाई ४–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भलुवा खेलमैदानमा सम्पन्न खेलमा औरावनीका लागि खेलको तेस्रो मिनट मै राजेन्द्र रावलले गोलको खाता खोलेका थिए । २८औं मिनटमा रितिक खड्काले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ७१औं मिनटमा म्याक्सवेलले टोलीका लागि तेस्रो गोल थपे । ८२औं मिनटमा धिरेन्द्र चौधरीले आत्मघाती गोल गर्दा औरावनीले उत्कृष्ट जित सुनिश्चित गरेको थियो ।

खेलमा औरावनीका रितिक खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ ३१ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल पथरी स्र्पोटिङ क्लब, मोरङ र बिरगंज युनाइटेड, बाराबीच हुने आयोजकले जनाएको छ ।

गोल्डेन स्टार युथ क्लबको आयोजना तथा दुहबी नगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने असार ६ गतेका दिन हुनेछ ।

 

Post Comments