News संघर्षपुर्ण जितका साथ पथरी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । पथरी स्र्पोटिङ क्लब, मोरङ यहाँ जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा बिरगंज युनाइटेडलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै पथरी अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि भलुवा खेलमैदानमा सम्पन्न निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ पथरीका लागि दिपक राईले दुई तथा बिशाल पाण्डेले एक गोल गरे । उता बिरगंजका लागि कृपा चौधरी एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलमा पथरीका लागि दुई गोल गरेका दिपक राई म्यान अफ द म्याच चुनिए । उनलाई खेलका प्रमुख अतिथी अरबिन्द विश्वासले नगद ५ हजारसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असार १ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र पेमा युथ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

श्री गोल्डेन स्टार युथ क्लबको आयोजना तथा दुहबी नगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने असार ६ गतेका दिन हुनेछ ।

Post Comments