News देउराली फाइनलमा, उपाधिका लागि मोतिरामसँग भिड्ने
गोलनेपाल

इटहरी । देउराली एफसी, धनकुटा र मोतिराम एफसी, मोरङ यहाँ जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा देउरालीले शनिश्चरे फुटबल क्लब, झापालाई ३–१ ले हराउँदै मोतिरामसँगको फाइनल भेट पक्का गरेको हो । इटहरी रंगशालामा भएको दोस्रो सेमिफाइनल भिडन्तमा खेलको दशौं मिनटमा बिशाल दर्जीको गोलबाट शनिश्चरेले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

उता देउरालीका लागि १४औं मिनटमा बिरेन्द्र लिम्बुले बराबरी गोल फर्काए । त्यस्तै ३१ र ८०औं मिनटमा संजय रमतेलले थप दुई गोल गर्दै देउरालीको सहज जित पक्का गरे ।

देउरालीका दुई गोलकर्ता संजय रमतेल म्यान अफ द म्याच समेत चुनिए । उनलाई खेलका प्रमुख अतिथी सुरेन्द्र तामाङले नगद २१ सय र मेडलका साथ पुरस्कृत गरे ।

अब फाइनल खेल असार १ गते बुधबारका दिन मोतिराम एफसी र देउराली एफसीबीच हुने आयोजकले जनाएको छ । प्रदेश खेलकुद बोर्ड, बिराटनगरको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments