News मोतिराम बन्यो च्याम्पियन
गोलनेपाल

इटहरी । प्रथम प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोतिराम स्र्पोटिङ क्लब, मोरङले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा देउराली फुटबल क्लब, धनकुटालाई २–१ ले हराउँदै मोतिराम प्रदेश १ को क्लब च्याम्पियन बनेको हो ।

इटहरी रंगशालामा सम्पन्न खेलमा मोतिरामले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जित हात पार्यो । खेलको १८औं मिनटमा संजय रमतेलको गोलबाट देउरालीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा त्यो अग्रता गुमाउन पुग्यो ।

५७औं मिनटमा दिवाकर चौधरीले मोतिरामका लागि बराबरी गोल फर्काए । ७०औं मिनटमा मिक्चेन तामाङले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

विजेता बनेको मोतिरामले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता देउरालीले १ लाखमा चित्त बुझायो । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मोतिरामका उमेश कार्की चुनिए । उनले पुरस्कार वापत नगद ५१ सय र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई फाइनल खेलका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

प्रदेश खेलकुद बोर्ड, बिराटनगरको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा प्रदेश १ का कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments