News नेपाल आइस हेमजा गोल्डकपमा आयोजकको विजयी शुरुवात
उमेश पुन

पोखरा । शनिबारदेखि पर्यटकीय नगरी पोखरामा शुरु छैठौं नेपाल आइस हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक हेमजा युनाइटेडले विजयी शुरुवात गरेको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको उद्घाटन खेलमा राष्ट्रिय खेलाडीहरुले भरिएको आयोजक हेमजा युनाइटेडले बिरगंज युनाइटेडलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

हेमजाको जितमा सुमन अर्यालले दुई गोल गरे भने थप एक गोल कमल थापाले गरे । उता पराजित बिरगंजका लागि कृपा चौधरीले एक मात्र सान्त्वना गोल गरेका थिए ।

खेलमा दुई गोल गरेका सुमन अर्याल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । यो जितसँगै आयोजक हेमजा प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत असार ५ गतेको खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र कालिका स्पोर्टस एकेडेमी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

हेमजा युनाइटेड, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असार ११ गतेका दिन हुनेछ ।

Post Comments