News रारा फाइनलमा, उपाधिका लागि एभनिरसँग भिड्ने
गोलनेपाल

दुहबी । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी आठौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा पथरी स्र्पोटिङ क्लब, मोरङलाई ३–१ ले हराउँदै राराले फाइनल यात्रा पक्का गरेको हो ।

भलुवा खेलमैदानमा सम्पन्न खेलमा राराका लागि २५औं मिनटमा निशान लिम्बुले पहिलो गोलको खाता खोले । ४६औं मिनटमा सुनिल खड्काले त्यो अग्रता दोब्बर पारे । खेलमा तेस्रो गोल फेरि निशान लिम्बु कै नाममा रह्यो । ७३औं मिनटमा निशानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे जुन निर्णायक पनि बन्यो ।

उता पराजित पथरीका लागि ७७औं मिनटमा विजय भुजेलले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो प्रर्याप्त बनेन । खेलमा राराका पदम भट्टराई म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी मेनुका खड्काले नगद ५ हजारसहित पुरस्कृत गरिन् ।

राराले अब उपाधिका लागि असार ६ गते सोमबारका दिन एभनिर एफसी, क्यामरुनसँग फाइनलमा भिड्नेछ । श्री गोल्डेन स्टार युथ क्लब आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments