News १५औं भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने
सुरज राना मगर

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्तीको अवसरमा यहाँ प्रतिष्ठित १५औं भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

भन्सार युवा परिवार, भानु नगरपालिका–१, भन्सार बजार तनहुँको आयोजनामा यहि आउँदो असार २० देखि २९ गतेसम्म हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि तीव्र रुपमा अगाडी बढीरहेको आयोजकले जानकारी दियो ।

भन्सार बजार स्थित भानु रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २०–२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि इच्छुक क्लबहरुले यहि असार १७ गतेसम्म टिम दर्ता गर्न सक्ने छन् । साथै टिमदर्ता शुल्क रु १०,०००+२,००० तोकिएको पनि आयोजकले जानकारी दियो ।

अन्य विविध कार्यक्रमहरु पनि हुने

आयोजकका अनुसार सो अवसरमा फुटबल प्रतियोगिता बाहेक अन्य विविध कार्यक्रमहरु पनि हुने जानकारी गराइयो । जसअन्तरगत छेलो खेल र बाघचाल प्रतियोगिता पनि हुने छन् ।

छेलो खेलतर्फको विजेताले उपाधिसहित नगद ५ हजार हात पार्नेछ भने बाघचालतर्फको विजेताले उपाधिसहित नगद ६ हजार प्राप्त गर्नेछ । यी दुवै खेलका लागि दर्ता मिति यहि असार २९ गतेसम्म तोकिएको छ भने दर्ता शुल्क पनि समान २ सय रुपैयाँ तोकिएको छ ।

 

Post Comments