News एपिएफलाई निराश पार्दै एभनिर सेमिफाइनलमा
उमेश पुन

पोखरा । प्रभावशाली जितका साथ एभनिर फुटबल क्लब, क्यामरुन यहाँ जारी नेपाल आइस छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा २५, हेमजा स्थित गौरीशंकर खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा एभनिरले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

खेलका २७औं मिनटमा सेमसेमको गोलबाट एभनिरले खेलमा अग्रता लिएको थियो । फ्रेडरिकले पहिलो हाफ कै अतिरिक्त समयमा त्यो अग्रता दोब्बर बनाए । दोस्रो हाफको ८६ र ९३औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बिलेले दुई थोल थप्दै टोलीको सहज जित सुनिश्चित गरेका थिए ।

उता चौथो ग ोल खाएको एक मिनट लगतै सबिन थापाले एपिएफका लागि एक मात्र गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा एभनिरका लागि दुई गोल गरेका बिले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असार ८ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक हेमजा युनाइटेड र खुमलटार युथ क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

यहि असार ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन नेपाल आइसले गरेको छ ।

Post Comments