News वार्ड नम्बर ७ लाई देवदह वार्ड कपको उपाधि
सुरज राना मगर

बुटवल । यहाँ सम्पन्न प्रथम देवदह वार्ड कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ७ (ए) ले जित्न सफल भएको छ ।

देवदह–१०, चरङे स्थित चिसापानी खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा वार्ड नं. ७ (ए) ले वार्ड नं. १० (ए) लाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको वार्ड नं. ७ (ए) ले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता वार्ड नं. १० (ए) ले २० हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी वार्ड नं. १० (ए) का सुरज घलान घोषित भए ।

त्यस्तै राइजिङ प्लेयरको पुरस्कार वार्ड नं. ७ (ए) का देव नेपालीले हात पारे भने सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नं. १० (बी) का समिर रानाले प्राप्त गरेको प्रतियोगिता संयोजक तुल बहादुर आलेले जानकारी दिए ।

भेट्रान फुटबलमा बुद्ध भेट्रान्स विजयी

त्यस्तै फाइनल अघि सम्पन्न मैत्रीपूर्ण भेट्रान्स फुटबल म्याचमा बुद्ध भेट्रान्स विजयी बन्यो । बुद्ध भेट्रान्सले चरङे भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै विजयी बनेको हो । बुद्ध भेट्रान्सका लागि लिल बहादुर गुरुङले एक मात्र निर्णायक गोल गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी देवदह–१०, चरङेका वार्ड अध्यक्ष यक बहादुर सुनार, आयोजक त्रिशुली युवा क्लबका अध्यक्ष याम बहादुर राना लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments