News साफ महिला च्याम्पियनसिपको मिति सर्न सक्ने
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली महिला फुटबलको प्रतिष्ठित छैठौं साफ महिला च्याम्पियनसिपको मिति सर्न सक्ने देखिएको छ । एन्फा स्रोतका अनुसार आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुने भनिएको महिला साफ च्याम्पियनसिपको मिति साता दिन सर्न सक्ने देखिएको हो ।

एन्फा स्रोतका अनुसार भारतको आग्रह बमोजिम प्रतियोगिताको मिति एक साता पछि सार्न सकिने सम्भावना देखिएको हो । भारतीय महिला फुटबल टोलीको आफ्नै विविध कारणले तोकिएको समयमा टिम उपलब्ध हुने नदेखिएपछि सो आग्रह गरिएको बताइएकोे छ ।

यसबारे एन्फाको यहि साउन २ गते बस्ने कार्यसमितिको बैठकबाट निर्णय गरिने सम्भावना छ । स्मरण रहोस, महिला साफ च्याम्पियनसिपको आयोजना अधिकार पाएपछि एन्फाले आयोजना स्थलको टुंगो लगाउन पनि यसैलाई मुख्य एजेण्डा बनाई साउन २ गतेको बैठकलाई तोकेको थियो ।

निकट स्रोतका अनुसार यदि महिला साफ च्याम्पियनसिपको मिति सर्न पुगे प्रतियोगिताको नयाँ मिति भदौ २१ गते हुन सक्ने बताइएको छ । यद्यपि यसबारे विस्तृत रुपमा भने एन्फाको बैठकले नै निर्णय गर्नेछ ।

स्मरणीय छ, नेपालले महिला साफ च्याम्पियनसिपको आयोजना गर्ने अधिकार लगातार दोस्रोपटक पाएको हो । यसअघि पाँचौं संस्करणको प्रतियोगिता विराटनगरमा सफलताका साथ सम्पन्न भएको थियो । त्यतिबेला फाइनलमा भारतले नेपाललाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।

Post Comments